यात्रुबाहक बस खोलामा खस्दा ९ जनाको मृत्यु

काठमाडाैं । भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो ।

चौतीस जना यात्रु सवार बस खोलामा खस्दा घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

घाइतेका उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दाे उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेण्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरेकाे गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१