
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले काठमाडौंको निष्क्रिय अवस्थामा रहेका सबै ढुंगेधारा ब्युँताउनका लागि बजेट विनियोजन गरेर उपयुक्त प्रयासहरू गर्ने बताएका छन् ।
उनले आइतवार नेवाः सभ्यता र संस्कारअनुरूपको सिथि नखः पर्वको अवसरमा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले काठमाडौंको पाटीपौवा, पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्व रहेको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘काठमाडौमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदैछन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ । यस्तो अव्यवस्थाका कारणले काठमाडौं अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।’