काठमाडौं । चीनले गोरखाको चुमनुब्री गाउँपालिका १ रुइला नाकामा एकतर्फी रुपमा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा एकतर्फी तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।
माइतिघरबाट सुरु भएको विरोध र्याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो । विरोध र्यालीमा ‘गो ब्याक चाइना’, ‘चिनियाँ विस्तारवाद बन्द गर’, ‘मिचिएको भूमि फिर्ता गर’, ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाइएको थियो ।

बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सम्बोधन गरे । उनले चीनले दशगजामै तारबार र भौतिक संरचना बनाउँदा समेत नेपाली प्रशासन मुकदर्शक भएर बसेको भन्दै आक्रोश व्यक्त गरे ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताअनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचान बनाउन वा तारबार लगाउन पाइँदैन । त्यसका लागि दुईपक्षीय सहमति आवश्यक पर्छ । तर, रुइला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ ।
