
मोरङ । स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठक्कर दिएर मोरङका दुई बालबालिकाको ज्यान गएको छ ।
मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिँदा दुई विद्यार्थीको ज्यान गएको हो ।
स्कुल छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो ।
हृतिकको घटनास्थलमै ज्यान गएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यसैबीच, विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
आक्रोशित स्थानीयले स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरेका थिए । प्रहरीले अनुसन्धानका लागि बस चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।