काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
बुधबार संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । प्रतिपक्षी दल एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो ।
आफूले गल्ती नगरेको भए पनि सबैको धाराणाकाे सम्मान गरी आफूले पदबाट राजीनामा दिएको उनले बताए । शर्माले बजेट निर्माणमा कुनै त्रुटी नगरेको दाबी पनि गरे । उनले स्थापित मूल्य र मान्यताकै आधारमा बजेट बनेको जिकिरसमेत गरेका छन् ।
शर्मामाथि आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत जेठ १४ गते अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा लगेर करका दरमा व्यापक हेरफेर गरेको आरोप लागेको थियो ।
अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा छिर्दाको समयको सीसीटीभी फुटेज पनि १३ दिनमै डिलिट भएको जवाफ दिएपछि शर्मा झन् विवादमा तानिएका थिए ।
यही कुरा लिएर प्रमुख प्रतिपक्षी एमालेले शर्मामाथि घेराबन्दी बढाएको थियो । अर्कातिर शर्माको भूमिका गैरजिम्मेवारपूर्ण भन्दै सर्वसाधारणबाट पनि आलोचना भएको थियो ।