काठमाडौं । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा रहेकाे शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनहरुको उद्घाटन गरेका छन् ।
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ५ करोड ९२ लाख रुपैयाँ लागतमा यी परियोजना निर्माण भएकाे हाे ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा यी परियोजनाहरुको उद्घाटन गरिएको हो ।

शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् जहाँ क्रमशः ७०० र १३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यी विद्यालयका लागि यस परियोजना अन्तर्गत निर्माण गरिएका नयाँ पूर्वाधारले उपयुक्त वातावरण सिर्जना गर्नेछ ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।