
काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएकाे छ ।
भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले विद्यालयका लागि निर्मित भवनको मंगलबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरिएकाे छ ।
कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर श्री के.आई सिंहले यस विद्यालयको डिजाइन गरेका हुन् । यस विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् ।
भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिइएकाे छ ।