• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भारतले कनिका निर्यातमा प्रतिबन्ध लगायो, वियरको मूल्य बढ्ने

काठमाडौ ।  भारतले कनिका निर्यातमा प्रतिवन्ध लगाएको छ । हिजोदेखि लागू हुने गरी भारत सरकारले गरेको कनिका निर्यात प्रतिबन्धको निर्णय आज (शुक्रबार) देखि कार्यान्वयनमा आएको छ ।

कनिका निर्यात प्रतिवन्ध गर्न भारत सरकारको निर्णयले नेपालका वियर उद्योग प्रभावित हुने भएका छन् । वियर उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने कनिका निर्यातमा भारतले प्रतिवन्ध लगाउने भएपछि त्यसको असर नेपालमा देखिने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए ।

‘गत वर्षको तथ्यांक हेर्ने हो भने करिब ५० हजार मेट्रिकटन कनिका भारतबाट नेपालमा आएको देखिन्छ, यस्तो कनिका वियय उद्योगको कच्चा पदार्थको रुपमा प्रयोग हुने गरेको छ, त्यसैले कनिका निर्यातमा प्रतिवन्ध लगाउने भारतको निर्णयले नेपालमा नकारात्मक असर पर्न सक्छ,’ अध्यक्ष गुप्ताले भने ।

यस्तै, भारतले चामल निर्यातमा पनि कडाइ गरेको छ । अहिलेसम्म करिब १५० देशमा चामल निर्यात गर्दै आएको भारतले बासमती बाहेकका चामल निर्यातमा लाग्ने कर २० प्रतिशतले बढाएको छ । नेपालमा पनि भारतबाट ठूलो परिमाणमा चामल आयात हुने गर्छ ।

भारतले चामल निर्यातमा कर बढाएको र कनिका निर्यातमा प्रतिवन्ध गरेका कारण नेपाली वियर उत्पादक कम्पनीको लागत बढ्ने देखिएको छ । कम्पनीको उत्पादन लागत बढेपछि वियरको मूल्य पनि बढ्छ ।

संघको तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालमा ५ लाख ४६ हजार मेट्रिक टन धान, ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात भएको थियो । यस्तो आयातमध्ये अधिकांश चामल, धान र कनिका भारतबाट नै आयात भएको हो ।