
काठमाडौं । डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँ झन् कमजोर बनेको छ । मंगलबार एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, मंगलबारको लागि एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । याे डलरको विनिमय दर हालसम्मकै उच्च हो ।
पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएपछि बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो ।
गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । सोही दिन राष्ट्र बैंकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको थियो ।
भारतीय मुद्रा लगातार कमजोर भइरहँदा भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरको कारण पनि नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।
अमेरिकी डलर बलियो बन्दै जाँदा युरो भने कमजोर बन्दै गएको छ । २०१७ यता लगातार डलर भन्दा बलियो रहेकोमा पछिल्लो १/२ महिना यता युरो भने कमजोर बनेको छ ।
शुक्रबार युरोको खरिद मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १६ पैसा रहेकोमा आइतबार युरोको खरिद मूल्य १२६ रुपैयाँ २० पैसा र बिक्री मूल्य १२६ रुपैयाँ ७९ पैसा कायम भएको थियो ।
आज मंगलबार युरो झनै कमजोर बन्दै खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसामा झरेको छ ।