रूस, युक्रेन र बेलारूसका अभियन्तालाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अधिवक्ता एलेस बियालियात्स्कीसहित अन्य दुई संस्थालाई प्रदान गरिने भएको छ ।

नर्वेजियन नोबेल कमिटीले शुक्रबार घोषणा गरेअनुसार बियालियात्स्कीसँगै रुसी मानवअिधकार संगठन मेमोरियल र युक्रेनको मानवअधिकार संगठन सेन्टर फर सिभिल लिबर्टिजलाई सम्मानित गर्ने निर्णय गरेको हो ।

फेब्रअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि केन्द्रले युक्रेनी नागरिकविरुद्ध रुसले गरेको युद्ध अपराधको पहिचान गर्ने र त्यसलाई अभिलेखीकरण गर्ने काम गर्दै आएको छ । केन्द्रले दोषी पक्षलाई उसले गरेको अपराधका लागि जवाफदेही बनाउन अग्रणी भूमिका निभाउँदै आएको नोबेल कमिटीले जनाएको छ ।

नोबेल कमिटीले पुरस्कार बिजेता व्यक्ति तथा संस्थाहरूले शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्व प्रदर्शन गरेकोले पुरस्कार प्रदान गरिएको उल्लेख गरेको छ । सत्ताको आलोचना गर्ने र नागरिकको मौलिक अधिकारको रक्षा गर्न उनीहरूले भूमिका खेलेको कमिटीको ठहर छ ।

युद्ध अपराध, मानवअधिकार हनन र शक्तिको दुरुपयोगका घटनाहरूको अभिलेखीकरण गर्ने प्रयासका लागि नोबेल कमिटीले उनीहरूको प्रसंशा गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१