
धनगढी । बैतडीमा मंगलबारदेखि बेपत्ता एक युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ भने अर्की एक युवती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् ।
बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँग गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएकाे हाे ।
नेहा पनि घाँटी रेटेको अवस्थामा भेटिएकी हुन् । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार दुवै जना मंगलबार बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
खोजी गर्ने क्रममा बुधबार बेलुकी स्थानीय र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।