
काठमाडाैं । सरकार र वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत गएनन् ।
संसद सचिवालयले संसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आज सर्वोच्च फर्किने तयारीमा थिए ।
बारका पदाधिकारी जबरालाई रोक्न सर्वोच्चको गेटमा धर्ना बसेका थिए । संसद सचिवालयले महाअभियोग निष्प्रभावी भइसकेको पत्र दिए पनि सरकारले जबरालाई सर्वोच्च छिर्न नदिन निर्देशन दिएको छ ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा छिर्न खोजे रोक्न निर्देशन दिएको थियो । सरकारको निर्देशन र वकिलहरुको पनि अवरोधका कारण जबरा सर्वोच्च फर्किन सकेनन् । उनले दिउँसो ३ बजे आफू सर्वोच्चमा हाजिर हुने बताएपछि सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
भोली सार्वजनिक बिदा भएकाले आजै सर्वोच्च पुगेर हाजिर गर्ने तयारी गरे पनि कार्यालय समयसम्म उनी सर्वाेच्च पुगेनन् ।
यसअघि गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिँदा पनि चोलेन्द्रले सर्वोच्च फर्किने प्रयास गरेका थिए । तर उनलाई बालुवाटारस्थित निवासमै सुरक्षाकर्मी परिचालन गरेर त्यसबेला पनि रोकिएको थियो ।