सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाभर फ्री वाईफाई जडान गरिने भएको छ । हुलाक सञ्चारको विशेष संवादमा कुराकानी गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले इन्द्रावती गाउँपालिका भर दुई वर्षका लागि फ्री वाईफाई जडान गर्ने बताएका हुन् ।
इन्द्रावती गाउँपालिकालाई टेक्नोलोजीमा सक्षम र सबल गाउँपालिकामा उभ्याउन आफूले फ्री वाईफाईको अवधारणा ल्याएको उनले बताए । ‘इन्द्रावती गाउँपालिकालाई टेक्नोलोजीमा सक्षम र सबल बनाउन फ्री वाईफाईको अवधारणा ल्याएका छौँ । हामीले दूर सञ्चार प्राधिकरणसँग समन्वय गरेर २ वर्षका लागि इन्द्रावती गाउँपालिका भर फ्री वाईफाईको व्यवस्था मिलाउँदै छौँ’,उनले भने । ‘सम्झौता भैसकेको छ । १२ वटै पालिकामा इन्टरनेट हुन्छ ।’
उनले आफू नौलो जनप्रतिनिधि नभएको र जनताका सारथि बनेको पनि बताए । २०५४ सालमा पनि गाविसको अध्यक्ष रहेको भन्दै जनताका सुख दु:खमा बढी समय बिताउने गरेको उनकाे भनाइ छ । ‘०५४ सालमा पनि सानो तिनो गाविसको अध्यक्ष भएकै हो । त्यति बेलादेखि नै निरन्तर इन्द्रावती वासीको घर आँगनमै सुख दुखमै बढी समय बिताएको छु’,उनले भने ।
उनले सङ्घीय सरकार र प्रादेशिक सरकारले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन नलागेको आरोप पनि लगाए । स्थानीय सरकारलाई बलियो बनाउन राजनीतिक नेतृत्वले पहलकदमी नगरेको उनले बताए । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर पनि स्थानीय सरकारलाई अधिकार सम्पन्न नगराएको प्रति उनले आक्रोश पोखे ।
‘सामन्ती एकीकृत केन्द्रीकृत व्यवस्थालाई परास्त गरेर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर पनि स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनतर्फ राजनीतिक दलहरू अग्रसर भएका छैनन् । यसले गणतन्त्रको प्रत्याभूति गर्न सकिँदैन’ उनले भने ।
उनले जनताको प्रत्यक्ष सरोकारको विषयलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम कारबाही अघि बढाएको बताए । उपाध्यक्षसँग जोडेर सुत्केरी महिलाका लागि ‘संस्थामा झन्डा घर घरमा अण्डा’भन्ने नाराका साथ सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम ल्याएको बताए ।
‘हामीले उपाध्यक्षसँग जोडेर सुत्केरी आमाहरूलाई १ क्रेट अण्डा र १ हजार रुपैयाँ दिने गरेका छौँ’,उनले भने । वृद्ध बा आमाहरूका लागि गाउँपालिकाले घर घरमा स्वास्थ्य उपचारको प्रबन्ध मिलाएको पनि उनकाे दाबी छ । ‘अशक्त वृद्ध बा आमाहरूका लागि घर घरमै स्वास्थ्योपचार सुरु गरेका छौँ ’ उनले भने । गाउँपालिकाले एकल पुरुषका लागि पनि मासिक ५ सयका दरले एकल पुरुष भत्ता वितरण सुरु गरेको उनले बताए ।
विस्तृत भिडिओमा :