अमेरिकाले पेल्न खोजे प्रचण्डले ‘एमसीसी’ खारेज गर्छन् : माओवादी नेता बस्नेत (भिडिओसहित)

काठमाडाैं । वारपारको लडाईंसहित पूर्व पश्चिम भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको मिलनलाई धेरैले अस्वभाविक ठानेका छन् । राजनीतिक मुद्दा, व्यक्तिगत कुण्ठा र गुनासोहरुको समाधान नगरी नाटकियरुपमा दुई नेता मिलेपछि राष्ट्रिय राजनीति नै फेरिएको छ । यसले ओली र प्रचण्डको सहयात्रा मात्र होइन राजनीतिक मूल्य मान्यतामाथि समेत अनेकौं प्रश्न उठाएको छ ।

प्रचण्ड निकट नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री टेकबहादुर बस्नेत राष्ट्रिय स्वाधिनताको अगाडि आन्तरिक विवाद गौण हुने बताउँछन् । नेपालमा सरकार निर्माण र महत्वपूर्ण राजकीय पदमा अमेरिकाले प्रभुत्व जमाउन खोजेकाले त्यसको प्रतिकार गर्न एमालेसँग मिल्नुपर्ने बाध्यता आइपरेको उनको भनाइ छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक आफूलाई भारत र अमेरिकाबाट फोन आएको भन्ने गरेको स्मरण गर्दै उनले यसपटक पनि कांग्रेसलाई प्रयोग गरेर अमेरिकाले राज्य सत्ता कब्जा गर्न प्रयास गरेको आरोप लगाए ।

एमाले र केपी ओलीसँगका विवाद आन्तरिक भएकाले ती विस्तारै हल हुँदै जाने बस्नेतको भनाइ छ । अमेरिकाले पेल्न नै खोजे वर्तमान सरकारले एमसीसी खारेज गर्ने चेतावनी उनले दिए ।

नेता बस्नेतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुलाई गठवन्धन र सरकारमा ल्याउने प्रयास भैरहेकोसमेत जानकारी गराए । कांग्रेससँगको सहकार्यको च्याप्टर बन्द भएको जनाउँदै उनले कांग्रेसकै हठ र सम्पूर्ण राज्य सत्ता कब्जा गर्ने सोचका कारण गठबन्धन फुटेको प्रष्टिकरण दिए ।

गृृहमन्त्री रवि लामिछाने जनताको मतबाट आएकाले उनका विषयमा प्रश्न उठाउनु जायज नभएको उनको टिप्पणी छ । यदि लामिछानेले शक्तिको दुरुपयोग गरी लाभ लिन खोजे त्यसको हिसाबकिताब जनताले अवश्य गर्नेछन् । चुनाव जितेर आएका नेताहरुको मूल्यांकन गर्ने समय भैनसकेको उनी बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१