• २०८३ असार ९
  • 2026 June 23, Tuesday

एमाले लुम्बिनीले दलको नेता आजै सर्वसम्मत चयन गर्ने

रुपन्देही । नेकपा एमाले लुम्बिनीले दलको नेता आजै सर्वसम्मत चयन गर्ने भएको छ । पार्टीनिकट स्रोतका अनुसार आकांक्षीमध्ये सिनियर रहेका लीला गिरीलाई सर्वसम्मत गर्ने तयारी छ । गिरी रुपन्देही २ को १ बाट निर्वाचित सांसद हुन् । पोलिटब्यूरो सदस्य रहेका उनी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री थिए ।

गिरीसँगै आकांक्षी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री चेतनारायण आचार्य, यसअघिका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य भूमिश्वर ढकाल तथा पूर्वमन्त्री तथा प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पार्टी निर्णयअनुसार अघि बढ्ने बताएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमाले २९ सांसदसहित पहिलो दलको रूपमा रहेको छ । गठबन्धनको समीकरण फेरिएपछि यहाँ एमाले र माओवादी दुवैले मुख्यमन्त्री दाबी गरिरहेका छन् । तर, प्रदेशमा पहिलो दल भएकाले एमालेले नै मुख्यमन्त्रीको दाबी गरेको सांसद लीला गिरीले बताए ।

यहाँ आधा आधा कार्यकाल बाँड्नेगरी पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने गरी पनि गठबन्धनमा छलफल भइरहेको एक नेताले बताए । एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले प्रदेशको नेतृत्व ठूलो दलका हिसाबले एमालेले पाउनुपर्ने भएपनि बाँडफाँटबारे टुंगिन बाँकी रहेको बताए ।