
काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हल्ला नगरी काम गर्न सुझाब दिएका छन् ।
हुलाक सञ्चारसँग कुरा गर्दैै नेता बिडारीले गृहमन्त्री लामिछानेले हिजो संचारकर्मी हुँदा जस्तै प्रचारका लागि मात्र काम गरेको जस्तो देखिएकाले संयम भएर विधिसम्मत ढंगले काम गर्न सुझाव दिएका हुन् ।
गृहमन्त्रीले दुई चार ठाउँ अनुगमन गरेर, सचिव, सिडिओ भेला पारेर भाषण गरेर हल्ला त होला तर त्यसले परिणाम नदिने उनको भनाइ छ । प्रक्रिया पुर्याएर नीति नियम बनाइ परिपक्व ढंंगले काम गरे उनी सफल हुने बिडारीको भनाइ छ ।
बिडारी भन्छन्, ‘पहिलो नम्बरमा त लामिछाने गृहमन्त्री हुनुहुँदैन थियो । उनको नागरिकता र पासपोर्टमाथि छानबिन चलिरहेको छ । स्वार्थ बाझिने मन्त्रालय नै उनले किन छाने ? हिजो नैतिकताका ठूलाठूला कुरा गर्ने लामिछानेले आज आफ्नै नैतिकता हेर्नुपर्दैन ? ’
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार टिकाउन पनि लामिछानेलाई गृहमन्त्रालय दिनुपर्ने बाध्यता आएको भन्दै उनले राप्रपा र जसपालाई सरकार टिक्दैन कि भन्ने शंका उत्पन्न भएको समेत बताए । सरकार कतै ढलीहाल्छ कि भन्ने लागेर जसपा र राप्रपा सरकारमा सहभागि हुन हिच्कीचाइ रहेका छन् ।
बिडारीका अनुसार नेकपा एकीकृत समाजवादीले पनि सरकारलाई समर्थन गर्नेछ । माधव नेपालको जाने ठाउँ कहीँ नभएको भन्दै बिडारीले एमालेले पनि माधव नेपालको पार्टीलाई भित्र्याउन खोजेको दाबी गरे ।
बिडारी भन्छन्, ‘ओलीले धेरै हण्डर खाएपछि माधव नेपाल, झलनाथ खनालहरुको आवश्यकता महसुस गरेका छन् । एमाले सांसदको संख्या थपेर ठूलो दल बन्न चाहन्छ । एमाले मात्र होइन सबै वामपन्थी दलहरुबीच पनि एकताको प्रयास भैरहेको छ । ’
तत्कालका लागि सरकारलाई विश्वासको मत प्राप्त गर्न समस्या नभए पनि भोलि कुनै दलले समर्थन फिर्ता लिएको खण्डमा भने सरकार संकटमा पर्न सक्ने बिडारी बताउँछन् । सरकारलाई समर्थन गरेको दलले विश्वासको मत फिर्ता लिएमा सरकारले पुनः विश्वासको मत लिनुपर्ने संविधानको धारा १०० मा उल्लेख छ ।
विस्तृत भिडिओमा :