राप्रपाले माग्याे उपप्रधानसहित चार मन्त्रालय, अन्य शर्त यस्ता छन्

काठमाडाैं । राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेकाे छ । कुन-कुन मन्त्रालय लिने र क-कसलाई मन्त्री बनाउनेबारे भने पार्टीमा छलफल हुनै बाँकी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त पनि राखेको छ ।

पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन् ।

तर सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ ।

राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । गत पुस १० मा ७ दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ७ दलमध्ये राप्रपा, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएका छैनन् ।

नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट केही मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन पहल गरिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१