• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

पोखरामा जहाज दुर्घटना- एकै परिवारका चारको मृत्यु

पर्वत । पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।

यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्।

गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए।

आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना, छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भयो।

युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)मा आइटी अधिकृतको रुपमा कार्यरत थिए भने उनकी श्रीमती सरु शर्मा त्रिभुवन विमानस्थलमै टावर कन्ट्रोलर अफिसरको रुपमा कार्यरत रहेको आफन्तसमेत रहेकी विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले बताइन्।

एउटै विमानमा श्रीमान्, छोराछोरी र सासूआमालाई गुमाएको खबर पाएपछि श्रीमती सरु विक्षिप्त भएकीले अस्पताल भर्ना गरिएको छ। एकै परिवारका चार जनाको निधनपछि अहिले सो गाउँ शोकमग्न भएको छ।

गाउँका छिमेकी र आफन्त शव पहिचान र अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन्। अकल्पनीय घटनाले सिङ्गो गाउँलाई मर्माहत बनाएको गाउँपालिकाकी उपाध्यक्ष तिवारीले बताइन्।

विमान दुर्घनामा एकै परिवारका ती चारजना सहित पर्वतका १० जनाले ज्यान गुमाएका छन्।

सो घटनामा निधन हुनेमा कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका–१ पाङकी रचना काफ्ले र उनको १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो।

त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङको पनि सोही दुर्घटनामा निधन भएको थियो। रासस