टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्छ : डब्लूएचओ

सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।

सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ ।

पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो ।

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् ।

विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो।

भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकाे सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन् ।

भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको समाचारमा जनाइएकाे छ ।

पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो ।

यस क्षेत्रमा परकम्पहरू पटकपटक महसुस भइरहेका छन् ।

टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको सङ्ख्या तीव्र रूपमा बढ्दो छ।

उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटेका छन् र त्यो सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१