
काठमाडाैं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ हजारभन्दा बढी भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १५,००० मानिसले ज्यान गुमाएको पुष्टि भएको बीबीसीले उल्लेख गरेकाे छ ।
आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन् ।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गरी दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन् ।
सिरियाको अवस्था झन् जटिल छ । सिरियामा वर्षौँ लामो द्वन्द्वका कारण देशको पूर्वाधारहरू ध्वस्त भएका छन् जसले गर्दा त्यहाँ राहत पुर्याउने प्रयासहरू जटिल बनेका छन् ।
टर्की र सिरियाबीचको अन्तर्राष्ट्रिय सिमाना बाब अल-हवा क्रशिङ, भूकम्पपछि सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ ।
सिरिया सरकारको सहयोग आह्वानपछि ईयूले ३५ लाख यूरो आर्थिक सहायता हस्तान्तरण गर्ने पुष्टि गरेको छ ।
यद्यपि, उक्त रकम सरकार तथा विद्रोही दुवै नियन्त्रित क्षेत्रहरूमा पुर्याउनु पर्ने जनाइएको छ ।
भूकम्प प्रभावित दुवै देशहरूमा मानवीय क्षति निकै बढी हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । विश्वभरका अन्य देश तथा दाताहरूले सहायता सामग्री, जनशक्ति र चिकित्सकीय सामग्रीहरू प्रस्ताव गरेका छन् ।