सुदूरमा सत्ता सकस : नागरिक उन्मुक्ति पार्टीका ७ सांसद काठमाडौंमा

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाइ नहुँदासम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने अडान लिएकी छिन् ।

काठमाडौंमा रहेका पार्टीका सांसदहरुसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले कसैसामु आत्मसमर्पण नगर्ने बताएकी हुन्।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीवार प्रदेश सभामा विश्वासको मत लिने प्रयास गर्दैछन् ।

बुधवार नै विश्वासको मत लिने तयारी रहे पनि आवश्यक बहुमत पुर्‍याउन नसकेपछि प्रदेश सभाको बैठक सूचनामार्फत स्थगित भएको थियो ।

बिहीवार दिउँसो १ बजेका लागि तय भएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । तर, बहुमतका लागि निर्णायक मानिएका नागरिक उन्मुक्ति पार्टीका ७ सांसद काठमाडौंमा छन् ।

उनीहरूले रेशम चौधरीलगायत टीकापुर घटनामा दोषी ठहर भएका नेताहरूको रिहाइको माग पूरा गर्ने शर्त पूरा गरेमात्र विश्वासको मत दिने बताएका छन् ।

रेशमसँग वार्ताका लागि उनीहरू काठमाडौं आएका थिए । उनीहरू धनगढी फर्केपछि मात्र विश्वासको मत लिने प्रक्रिया शुरू गर्ने तयारी छ ।

१० सांसद रहेको एमालेलाई माओवादीका ११ र राप्रपाका १ सांसदको समर्थन छ । विश्वासको मत जित्न उन्मुक्तिका ७ सांसदको समर्थन अनिवार्य छ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

माओवादी, उन्मुक्ति र राप्रपाको समर्थनमा प्रदेश प्रमुख देवराज जोशीले एमालेका रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१