
बिहारको बारेमा बनाइएकाे वेब सिरिज अहिले चर्चामा छ । सुधीर मिश्राको यो वेब सिरिज ‘जहानाबाद अफ लभ एण्ड वार’ सोनी लिभमा रिलिज भएको छ ।
‘जहानाबाद अफ लभ एण्ड वार’ सन् २००५ को ‘जेहानाबाद जेलब्रेक’ घटनामा आधारित छ । त्यसबेला आफ्ना साथीहरूलाई बाहिर निकाल्न करिब एक हजार माओवादीले रातको अँध्यारोमा जेलमा नै आक्रमण गरेका थिए ।
करिब दुई दशकअघि बिहारमा चलिरहेको जातीय द्वन्द्वमा हालै बनेको यो दोस्रो वेब सिरिज हो ।
यसअघि यस्तै सत्य घटनालाई लिएर ‘खाकी द बिहार च्याप्टर’ पनि बनेको थियो, जसले निकै हेडलाइन्स बटुलेको थियो ।
के भएकाे थियाे १३ नाेभेम्बर २००५ मा ?
नोभेम्बर १३ आइतबार थियो । राति करिब ९ बजे बिहारको जेहानाबाद जिल्ला सदरमुकाममा ठूलो संख्यामा माओवादीले आक्रमण गरेका थिए । जेहानाबाद राजधानी पटनाबाट मात्र ६० किलोमिटर टाढा छ ।
करिब एक हजार माओवादी चरमपन्थीले जेहानाबाद जेलमा मेसिनगन, बम र आधुनिक हतियारसहित आक्रमण गरेका थिए । उनले केही माओवादी नेतालाई जेलबाट रिहा गरेका थिए ।
माओवादीले मगध रेन्जका एरिया कमाण्डर अजय कानु र उनका केही सहकर्मीलाई कारागारबाट लगेको प्रशासनले आक्रमणपछि जनाएको थियो ।
माओवादीकाे मुख्य उद्देश्य अजय कानुलाई रिहा गर्ने मात्र थियो ।

अजय कानु, पूर्व माओवादी नेता ।
अजय कानुमाथि सन् १९९० मा जहानाबादमा भएको हत्याको आरोप थियो तर उनी फरार थिए ।
कानुलाई सन् २००२ मा पटनाबाट पक्राउ गरी जेहानाबाद जेलमा राखिएको थियो ।
यस घटनामा जेलमा रहेका रणवीर सेनाका कमाण्डर बिनु शर्मा उर्फ बडे शर्माको पनि मृत्यु भएको थियो ।
रणवीर सेना जमिनदारहरूले समर्थन गरेको सेना थियो, जसको प्रत्यक्ष लडाइ माओवादीसँग थियो । यसबाहेक जेल तोडफोडमा प्रहरीसहित अन्य तीन जनाको पनि मृत्यु भएको थियो ।
अजय कानु हाल धरौटीमा रिहा भएका छन् ।
याे वेब सिरिज रिलिज भएपछि अजय कानुले बीबीसीसँग भनेका छन्, ‘मैले ‘जेहानाबाद अफ लभ एण्ड वार’ शृंखला हेरेको छु । यो पूर्णतया काल्पनिक कथा हो । जहाँ जेहानाबादको अवस्था, त्यहाँका मानिसहरू, त्यहाँको समाजको कुनै चर्चा गरिएको छैन ।’
अजय कानुले वेब सिरिजलाई हिट बनाउन र पैसा कमाउन जबरजस्ती दुरुपयोग गरिएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘बुद्धिजीवीहरूलाई यो पटक्कै मन पर्दैन ।’
‘जेहानाबाद जेलब्रेक घटना’ अजयलाई बाहिर निकाल्नकै लागि भएको हो ? भन्ने बीबीसीकाे प्रश्नमा उनले यति मात्र भने- ‘जब जेल भत्कियो, सबै मानिस बाहिर आए ।’
अजय आफूलाई राजनीतिक व्यक्ति मान्छन् । उनका अनुसार माओवादी सङ्गठनमा एरिया कमाण्डर खासै ठूलो पद होइन, सङ्गठनमा ३०, ४० वा ५० जनाभन्दा बढी कमाण्डर हुन्छन् ।