• २०८३ असार १०
  • 2026 June 24, Wednesday

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी जेलबाट रिहा भएका छन् ।

कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आइतबार रिहा भएका हुन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी सूचीमा सांसद चौधरीको पनि नाम समावेश भएपछि उनी रिहा भएका हुन् ।

उनीसहित कैलाली कारागारबाट चार जना रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी हुन् ।

रिहा भएलगत्तै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् ।

चौधरीलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए ।