आदिल अन्सारीले भने – ह्वाट्स एपमा आएको थियो फिक्सिङको प्रस्ताव, मजाक गरेको सोचेँ

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल अन्सारीले स्पट फिक्सिङमा संलग्नता अस्वीकार गरेका छन् ।
सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले आफूलाई फिक्सिङका लागि अफर आए पनि त्यसमा संलग्न नभएको जिकिर गरेका हुन् ।
आदिलले आफू टी–२० लिगमा खेल्न लागेको थाहा पाएपछि ह्वाट्स एपमा समिर शेख नामक व्यक्तिले म्यासेज गरेर ‘एउटा नो बल र अर्को वाइड बल फाले’त्यसवापत १ लाख रुपैयाँ दिने भनेर प्रस्ताव राखेको स्वीकारेका छन् । तर, उनलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनेको उनले भनेका छन् ।

‘मैले एप्रोच तत्कालै अस्वीकार गरेको र उनले भने अनुसार खेल खेलेको छैन, यो विषयमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको थिएँ’, उनले भनेका छन्, ‘२६ डिसेम्बर २०२२ मा भएको खेल खेल्ने क्रममा बायाँ भागको कम्मरको नशामा समस्या आएपछि मैले तत्काल टिम कोचलाई जानकारी गराएपछि हाम्रो टिमको फिजियोथेरापिष्ट कर्मा छोडोन गुरुङले सामान्य उपचार गरिसकेपछि म खेल खेल्नका लागि मैदानमा गएको थिएँ ।’

आफ्नो टीममा तीब्र गतिको बलर नभएको कारण आफूलाई नै बलिङ गर्न कोचले निर्देशन दिएको कारण बलिङ गरेको उनको जिकिर छ । तर, काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभर र जनकपुर रोयल्स र फार वेष्ट युनाइटेड बीचको खेलको छैठौं ओभरमा आलमले प्रस्ताव गरिए अनुसार खेल खेलेको भन्दै उनी स्पट फिक्सिङमा संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको छ ।

तर, आदिलले चाहिँ दुखाइका कारण एक नो बल र एक वाइड बल भएको भनेका छन् । उनले भनेका छन्, ‘मैले समिर शेखले भने अनुसार बलिङ गरेको होइन ।’ सामान्य रकम प्रस्ताव गरेकाले आफूले मजाक गरेका होलान् भनेर गम्भिरतापूर्वक नलिएको उनले बताएका छन् ।
पछि समाचारहरुमा फिक्सिङबारे चर्चा आएपछि म्यानेजर विनोद दासको सल्लाह अनुसार भोलिपल्ट एन्टी करप्सन म्यानेजर वीर सिंहलाई जानकारी गराएको उनले भनेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१