काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक पदहरूको बाँडफाँटमा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताएका छन्।
मंगलबार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताए।
उनले गत मंसिर ४ गतेको चुनावअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग आफूले राष्ट्रपतिबारे कुरा गरेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई भेटेर राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा भइरहेका बेला नेपालले आफूसँग कुरा गर्न चाहने सबैसँग कुरा भइरहेको बताए।
‘तर मूल्य, मान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन,’ उनले भने।