
काठमाडौं । सप्तरीमा सोमबार सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या गरेको अभियोगमा सशस्त्र प्रहरी जवान ३९ वर्षीय होमबहादुर खत्रीलाई जन्मकैदको फैसला भएको छ । बुधबार सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले खत्रीलाई जन्मकैद सजाय तोकिएको सप्तरी जिल्ला अदालतका स्रेस्तादार कुमार मास्केले बताएका छन् ।
प्रहरी जवान खत्रीले जिल्ला बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बीओपी मा कार्यरत ४५ वर्षीय असई यादवको २०७९ असोज १९ गते राति हत्या गरेको थियो । हत्या गरेर फरार अभियुक्त खत्रीलाई प्रहरीले असोज २६ गते पक्राउ गरिएको थियो ।
पक्राउ परेका प्रहरी जवान खत्रीलाई सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम बिहारी मौर्यको इजलासले कात्तिक २२ गते खत्रीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको थियो । अदालतले अभियुक्त खत्रीलाई जन्मकैदका साथै तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गराउने फैसला गरेको स्रेस्तादार मास्केले बताए ।