
काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद विघटन ठीक रहेको अभिमत दिएपछि आफूले नयाँ बिकल्प खोजेको बताएका छन् ।
आठ दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले बिहीबार काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठीक रहेको बिचार व्यक्त गरेपछि आफूहरु सोच्न बाध्य भएको र नयाँ बिकल्प खोजेको बताए ।
उनले विकास र समृद्धिको जनचाहना सम्बोधन गर्ने चाहना भए पनि बीचमा अलिकति अल्मलिएको र अब ठिक ठाउँमा आएको धारणा राखे । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको र यो लोकतन्त्र र संविधानको हितमा रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले पौडेलको पक्षमा आठ दलको मात्रै नभई १० दलको समर्थन रहेको र स्वतन्त्र सांसदहरुको पनि समर्थन रहेको बताएकाे कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।
आठ दलले राष्ट्रपतिमा अघि सारेको उम्मेदवारका बिषयमा स्पष्ट पार्न अभिमुखी करण कार्यक्रम गरिएको उनले बताए । उनले पौडलको पक्षमा अझै समर्थन बढ्ने दाबी गरे ।
त्यस्तै, अभिमुखी कार्यक्रमपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको विषयमा प्रस्टता आवश्यक रहेको बताए । उनले अबको राष्ट्रपतिले मुलुकलाई एकताबद्ध बनाएर जानुपर्ने भन्दै पौडेलको पक्षमा भोट दिने उल्लेख गरे ।
त्यस्तै, आठ दलका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलले संविधानको परिधिभित्र रहेर आफूले काम गर्ने बताए । उनले अहिलेसम्म सबै दलबाट आफूलाई सहयोग गर्ने प्रतिबद्धता आएको बताए ।
कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठलगायतले राष्ट्रपतिमा भारी मतका साथ विजयी गराउनुपर्ने धारणा राखेका थिए ।
राष्ट्रपतिको निर्वाचन आगामी फाल्गुन २५ गते हुँदैछ ।