सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्र अन्ततः सहयोग गर्ने निष्कर्षमा पुगेको छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निर्णय गरेको थियो ।

सो निर्णयको जानकारीसहित निर्देशन आउने गरी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्राचार गरिएको थियो ।

पत्रको जवाफमा पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई सहयोग गर्न निर्देशन दिएको माओवादी निकट स्रोतले जानकारी दिएको छ ।

तर अझैसम्म नेतृत्व र मन्त्रालय बाँडफाँटको विषय टुङ्गो नलागेको बताइएको छ । माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।

निर्वाचनताका तत्कालीनघ प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका माओवादी प्रदेश इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

सोही आश्वासन पूरा गर्न माओवादीले सो माग अघि सारेको हो । मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिन लागेका छन् ।