रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अमेरिकी राजदूत डीआर थम्पसनकाे भेट

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ ।

बुधबार सिंहदरवारमा भएको भेटवार्तामा द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीचको ‘ल्यान्ड फोर्स टल्क’ सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले सहमति भएबमोजिम नेपाललाई हवाइसाधनलगायतका उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता जनए । उनले नेपालको भौगोलिक अवस्थितिबारे जानकार भएको भन्दै सोहीअनुसार सैन्य सहयोग गर्नेसमेत बताए

‘नेपालको भौगोलिक अवस्थिति र अवस्थाको बारेमा अमेरिकी पक्ष जानकार छ । नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक छौं,’ उनले भने ।

रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भए देखि नै घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै नेपाली सेनाको पूर्वाधार विकास लगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुऱ्याएको बताएका थिए । उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि अमेरिकी सरकारको सहयोगको आवश्यकता रहेको बताएका थिए ।

बैठकमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधिका साथै अमेरिकी दूतावासका रक्षा सहचारी एवं अन्य कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

यसअघि राजदूत थम्पसनले उपपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा गृहमन्त्री श्रेष्ठले संक्रमणकालीन न्याय निरुपणका लागि अमेरिकाको सहयोग मागेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१