
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले तीव्र रुपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताएका हुन् ।
थापाले अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने समयको सुविधा नरहेको बताए । उनले गएको १०–१५ बर्ष खेर फालेको भन्दै अब कांग्रेस समेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गरे ।
पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महशुस जनतालाई हुने उनको भनाइ छ । उनले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौती गरेर अप्ठेरो अवस्थालाई सहज बनाउनुपर्ने बताए ।
थापाले प्रधानमन्त्री र मन्त्रीहरुले फूर्सद नलिइ काम गरे सकारात्मक वातावरण बन्ने धारणा राखे ।
उनले मुलुकको आर्थिक समस्या समाधान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्न परनिर्भरतालाई कम गर्नुपर्नेमा जोड दिए ।