ओलीकाे आशंका : सत्तागठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्छ

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनले सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् ।

बिहीबार पार्टी निकट पेशागत महासंघ, नेपालको महाधिवेशन उद्घाटन गर्दै ओलीले यसअघि प्रधानन्यायधिशलाई महाभियोग लगाउने गठबन्धन नै अहिले रहेकाले कुनै पनि बेला सभामुखमाथि पनि महाभियोग प्रस्ताव ल्याउन सक्ने बताएका हुन् ।

अहिलेको गठबन्धनसंग लाजशरम भन्ने नै नरहेको संसदमा २५ प्रतिशत र बहुमतको बल देखाउन सक्ने उनको भनाइ छ । ओलीले यसअघि गठबन्धनले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन धेरै पटक खोजेको भए पनि सफल हुन नसकेको बताए ।

उनले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याएर नियतवस नै सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको जिकिर गरे । उनले गठबन्धनको सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा गर्न नसक्ने र गठबन्धन अस्थायी भएको धारणा पनि राखे ।

ओलीले जनताको मत जितेर एमाले अहिलेको अवस्थामा आएको भन्दै सरकारलाई खबरदारी गरिरहने उल्लेख गरे । अध्यक्ष ओलीले अहिलेको सरकार आउनेबितिकै विभिन्न निकायमा अनावश्यक भर्ना, नियुक्ति गरेर तमाशा देखाएको जिकीर गरे ।

उनले यसअघिको समाभुखले एउटा पक्षको प्यादाको रुपमा काम गरेको र पदीय मर्यादालाई माटोमा मिलाउने काम गरेको आरोप पनि लगाए ।

उनले सिंगो कर्मचारीतन्त्रको इञ्जिनको रुपमा काम गर्न संगठनलाई सुझाव दिए । कर्मचारीतन्त्रमा सेवाभावको कर्तत्व पूरा गर्नका लागि अघि बढ्न उनले आग्रह गरे । ओलीले सेवा दिने कर्मचारीले कसैमाथि आस्थाका आधारमा भेदभाव गर्न नहुने धारणा पनि राखे ।