काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको बताएका छन् ।
पार्टीभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता, क्षमता, कामलाई हेरेर नेता तथा कार्यकर्ताले जिम्मेवारी पाइरहेको उनको भनाइ छ ।
एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई स्वार्थका लागि विवाद नगर्न पनि भनेका छन् ।
‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि, स्वार्थका लागि यसो ग्रुप बनाएझैं, खेल्न खोजे झैं, त्यस्तो खालको नगर्नुहोला ।’ उनले भने ।
ओलीले एमाले मुलुकमा अरु पार्टीभन्दा बढि बलियो, व्यापक र अग्लो रहेको पनि बताए । पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको उनको भनाइ थियो ।
अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि बताए ।
उनले पार्टीको उद्देश्य प्राप्त हुने गरी महिला संगठन चलायमान हुनुपर्ने पनि बताए ।