• २०८३ असार २७
  • 2026 July 11, Saturday

उपचाररत रवि लामिछानेका ड्राईभरको निधन

पोस्टमार्टम भएपछि अन्तिम संस्कार गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालकको निधन भएको छ । लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो साढे एक बजे निधन भएको अस्पतालले जनाएको छ ।

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

दुर्घटनामा परी निधन भएका कारण ड्राइभर थापाको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिने भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम भएपछि मात्रै उनको शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइनेछ ।