अडियाे क्लिप सार्वजनिक गर्दै पलले भने- दुर्गेश थापालगायत यी चार जनाले फसाए

काठमाडाैं । अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत आफ्नाे बचाउ गरेका छन् । नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।

उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मन देखि निकाली सक्नु भएको होला र गाली पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु ममाथि गरिएको षडयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केही दिन अघि प्रसारित अडियो क्लिपमा मलाई आराेप लगाउने गायिकाले ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।’

उनले उक्त सार्वजनिक क्लिपमा भनिए जस्तो सुतिरहेको अवस्थामा जबरजस्ती गरेको, २ वर्ष अगाडिदेखि सम्बन्धमा रहे पनि १ वर्षपछि गर्लफ्रेन्ड छ भनेको र उनलाई मार्न खोजिएको आरोप गलत रहेको स्पष्टीकरण दिएका छन् ।

शाहले आफूमाथि षडयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् ।

‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवान् रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औँल्याइदिनुहोला । म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१