
काठमाडाैं । भारत सरकारको ‘खोप मैत्री’ योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहार दिएकाे छ ।
काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा उपहार स्वरुप उक्त खाेप दिइएकाे हाे । गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् ।
लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त पनि गरे ।
सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्सलगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ ।