काठमाडौं । सिन्धुलीको गोलन्जोर- ७ लौकुना नवघाटस्थित सुनकोशी नदीमा सीटीईभिटीका कर्मचारी सवार जीप खस्दा बेपत्ताको खोजी कार्य जारी छ ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बा १ झ ७४६७ नम्बरको जीप सुनकोशीमा खसेको थियो । जीपमा ४ जना सवार रहेकोमा चालक कृष्ण चौधरी भने पौडेर निस्कन सफल भएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा सीटीईभिटीका निर्देशकद्वय कृष्णबहादुर केसी र यामप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल रहेको जिल्ला प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिए । उनीहरूको उद्धारका लागि गोताखोरको टोली बोलाइएको खुर्कोट प्रहरीका इन्सपेक्टर सविता केसीले बताइन् ।
गाडी सडक किनारबाट करिब डेढ सय मिटर तल खसेको थियो ।