• २०८३ जेठ २५
  • 2026 June 08, Monday

जुम्लामा बाल विवाह रोकथाम गर्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य

काठमाडौं । जुम्लाको तिलामा स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेका छन् ।

विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।

पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्न वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ।

देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेको उनको भनाइ छ ।

जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ ।