काठमाडौं । भारतमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुर घर भएका एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
शनिबार भारतको उत्तराखण्ड अन्तर्गत खटिमा टनकपुर सडकखण्डको चकरपुर र वनबासा जंगलबीचमा रहेको जुरियानालामा कारले ठक्कर दिँदा स्कुटरमा सवार एकै परिवारका ४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरू चारै जना वनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए । उनीहरूलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, ५६ वर्षीया उनकी श्रीमती सरस्वतीको मृत्यु भएको छ ।
यस्तै, २३ वर्षीया बुहारी नर्मदा चन्द र भाइकी पत्नी कल्पना चन्दको मृत्यु भएको जनाइएको छ ।
उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए ।
खटिमाका प्रहरीले अस्पताल पुगेर परिवारका सदस्यलाई भेटेर सान्त्वना दिए । अहिले भारतीय प्रहरीले शवको पोस्टमर्टम गर्ने तयारी गरिरहेको बताइएको छ
।