काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार बिस्तारको क्रममा रहेको सूर्यविनायक धुलिखेल सडक निर्माण कार्यको अनुगमन गरेका छन् ।
हाल धमाधम बिस्तारको काम भैरहेको यो सडक खण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला, सडक विभागका महानिर्देशक तथा अन्य विभिन्न विभागका प्रमुख सहितकाे टाेलीले सडकको अनुगमन गरेकाे हाे ।
भक्तपुरको सूर्यबिनायक र काभ्रेको साँगा देखि दुई खण्डमा बिभाजन गरि ठेक्का लागाईएको यो सडक खण्डमा हाल सडकका दुवै साईटमा वाल निर्माणको काम भैरहेको छ । भक्तपुरको सूर्यबिनायकदेखि काभ्रेको धुलिखेलसम्म १६ किलोमिटर लम्बाई रहेको यस सडकको बिस्तारको काम गत वर्षबाट शुरु गरिएको हो ।
करिब ८ अर्ब ४२ करोड लागतमा निर्माण भैरहेको यो सडकको तीन स्थानमा पक्की पुल समेत निर्माण गरिने आयोजनाका प्राविधिक माधव पौडेलले जानकारी दिए । करिव ३ वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ बायाँ ५ / ५ मिटरको सर्भिस लेन २.५ मिटरको पैदल मार्ग रहने बताइएको छ ।
सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले निर्माण ब्यवसायीलाई काम समयमै सक्न निर्देशन दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण ब्यवसायीलाई दण्डित गर्ने बताए । त्यसैगरी, मन्त्री ज्वालाले यो सडक काठमाडौं उपत्यका छिर्ने प्रमुख नाकामध्ये एक भएकाले निर्माण कार्य समयमै सम्पन्न गरेर जनतालाई सुबिधा दिनुपर्ने बताए ।
त्यसैगरी, सडक विस्तार आयोजनाका प्राविधिक माधव पौडेलले सरकारले निर्माण ब्यवसायीको कामको रकम भुक्तानि समयमै गर्न नसकिएकाले निर्माण कार्यले अपेक्षाकृत रुपमा गति लिन नसकेको बताए ।