• २०८३ जेठ २५
  • 2026 June 08, Monday

आफुमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउनेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

बुधबार सर्वोच्च अदालत पुगेका चलाउनेले आफुमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानूनी र असंवैधानिक भएकोले खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् ।

रिट दर्ता गरेपछि उपप्राध्यापक चलाउनेले सरकारले अदालतलाई अचानो बनाउन नहुने बताए । न्यायपालिकाको काम न्यायपालिकालाई नै गर्न दिनु पर्ने उनको भनाइ छ ।

उनले भने ‘ रिट दर्ता भयो भोलि पेशी छ । यो स्वतन्त्र न्यायपालिका माथि राज्यको हस्तक्षेप बन्द गर्नु पर्छ । अपराधको राजनीतिकरण गर्न पाउँदैन सरकारले । मलाई न्यायालयले न्याय दिनुपर्छ । ’

समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोेज २० त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो ।

गत जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमडौंमा पेश भएको छ । यही निर्णयविरुद्ध चलाउनेले दिएको रिटको पेशी भोलि असार ७ गते बिहीबारलाई तोकिएको छ ।