• २०८३ जेठ २५
  • 2026 June 08, Monday

भीरकोट नगरपालिकाका हाकिमले पत्रकारलाई बन्धक बनाएर गरे फाेटाे, भिडिओ डिलिट !

कास्की । नेपाल पत्रकार महासंघले स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले समाचार संकलनका क्रममा एक पत्रकारलाई बन्धक बनाएर उनले खिचेकाे तस्बिर, भिडिओ डिलिट गरिदिएका छन् ।

महासंघ कास्की शाखाका कार्यसमिति सदस्य एवं एबीसी टेलिभिजनकी पोखरा सम्वाददाता गीता रानालाई समाचार संकलनका क्रममा प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले दुर्व्यवहार गर्दै बन्धक बनाएर प्रहरीको जिम्मा लगाएको महासंघले जनाएको हाे ।

महासंघ कास्की शाखाका अनुसार उक्त नगरपालिकाका सूचना अधिकारीलाई रिपोर्ट तथा वृत्तचित्र निमार्णबारे आवश्यक जानकारी गराई असार १२ गते मंगलबार नगरपालिका कार्यालयको तस्बिर खिचिरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले किन तस्बिर खिचेको भन्दै पत्रकार रानालाई दुर्व्यवहार गर्दै एक घण्टा कार्यालय परिसरमै बन्धक बनाएर खिचिएको सबै तस्बिर र भिडिओ मेटाएर प्रहरीको जिम्मा लगाएका थिए ।

‘स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि सार्वजनिक पदमा बसेका जिम्मेवार अधिकारीबाट भएको यस्तो गैरजिम्मेवार हर्कत अत्यन्त निन्दनीय र स्वतन्त्र पत्रकारितामाथिको प्रहार हो’ महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘यो घटनाले संविधानले प्रत्याभूत गरेको पत्रकारको अधिकार र नागरिकको सुसूचित हुने अधिकारमाथि आघात पुगेको महासंघको ठम्याइ छ ।’

महासंघले पत्रकार रानामाथि भएको यो घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन तथा पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा पेशागत अभ्यासमा जुट्ने वातावरण निर्माण गर्न माग गरेको छ ।