बझाङबाट काठमाडौं आउँदै गरेको नाइट बस कपिलवस्तुमा दुर्घटना

काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरीले जानकारी दिए । उनका अनुसार बसमा चालिस यात्रु सवार थिए ।

घाइतेहरूमा चार पुरूष र दुई महिला छन् । तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको छ ।

उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गति र मोड भएका कारण दुर्घटना भएको प्रहरीले बताए । उनका अनुसार त्यो ठाउँ दुर्घटना धेरै हुनेमध्येको ठाउँ हो ।

दुर्घटना भएको सूचना प्राप्त भएको पाँच मिनेटमै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको थियो ।

सकुशल रहेका यात्रुहरूलाई अर्को बस चढाएर काठमाडौं पठाइएको छ ।

दुर्घटनापछि चालक भने फरार छन् । प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको जानकारी दिए ।