मुगुकी हरिदेवीलाई आफ्नै गाउँघर विदेश बन्यो, भन्छिन् : देशमै अवसर छ

मुगु । देशमा अवसर नपाएको र आर्थिक मन्दीले गर्दा केही हुन नसकेको भन्दै विदेशिने युवाहरुका लागि मुगुकी एक युवती चुनौती बनेकी छिन् । गाउँठाउँमा लाज नमानी काममा हात हाले सम्भावनाको अथाह खानी नेपालमा नै छ भन्ने प्रमाण पनि उनले पेश गरेकी छिन् ।

मुगु जिल्ला सोरुगाँउपालिका १० धैनकी हरिदेवी बूढा कुनै बेला गाँउघरमा नै गरीब भनेर हेपिँदै आएकी थिइन् । तर मेहनतले अहिले उनको भाग्य चम्किएको छ । गरीब, असहाय, अपाङ्ग, दलित, पछाडि परेका बर्गहरुको क्षमता विकास गरी आयआर्जनमा परिवर्तन गर्ने आईएनएफनामक संस्थाबाट पाएको ४५ हजारले उनको अवस्था बदलिएको हो ।

२ बर्ष पहिला बाख्रापालनको लागि अनुदानमा सहयोग स्वरुप पाएको ४५ हजारबाट ७ बाख्रा किनेर सुरु गरेको बाख्रापालनबाट अहिले उनको घर खर्च, बालबच्चालाई बिद्यालय पठनपाठन, लत्ताकपडा, गाँसबाँस चलाएर पनि १७ बाख्रा खोरमा छन् ।

आर्थिक अवस्था बलियो बनेपछि दङ्ग परेकी बूढा भन्छिन् ‘राम्रो निकायबाट सपोर्ट भएपछि मेहेनेत गर्दा विदेश किन जानु पर्यो आफ्नै गाँरघर नै विदेश हुँदो रहेछ । अब यही बाख्रापालनलाई नियमित व्यवसाय बनाउने बूढाको भनाइ छ ।

बूढाका श्रीमान पनि हिजो आज निकै खुसी छन् । बिहान उठ्ने वित्तिकै बाख्राको लागि घाँस दानामा व्यस्त देखिन्छिन् । उनी भन्छिन् ‘हामी गरीबहरु कहाँ अनुदान पाउने थियौ र जुनसुकै बिकास आए पनि बाटा टाठालाई हुन्छ । स्थानीय सरकारबाट कुनै सहयोग नपाएका हामी यही बाख्रापालेर जीवन गुजारेर चलाउने अवस्थामा पुगेका छौँ ।’

दुर्गम हिमाली जिल्लामा रहेका पछाडि परेका गरीब, दलित, असहाय , महिला, गरीबहरुको आयआर्जन गरी स्वास्थ्य शिक्षा रोजगारमा परिवतन गर्ने नीति अनुसार आइएनएफबाट ४५ हजार अनुदान लिएर ७ बाख्रा किनेकी बूढासँग अहिले खोर भरि बाख्रा छन् । उनले यही बाख्रापालनबाट घर खर्च चलाएर साबाँ समूहलाई फिर्ता दिएर १७ बाख्रा खोरमा भर्न सफल भएकी छिन् । स्थानीय गाँउघरको मूल्य अनुसार अहिले बाख्रापालक किसान बूढासँग २ लाख ५० हजार भन्दा बढी मूल्यका बाख्रा खोरमा छन । आईएनएफ मुगुका क्षमता बिकास अधिकृत शारदा कुमारी हितानले मुगुका पछाडि परेका महिलाहरुलाई बूढाको झै अवस्थामा पुर्याउन संस्था सक्रिय रहेको बताइन् ।