काठमाडाैं । ‘आषाढ पूर्णिमा’ को पावन अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा असार १८ गते दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना सम्पन्न गरेकाे छ ।
उक्त समारोहमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी उपस्थित थिइन् । कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेद परिसंघ प्रतिनिधिको रुपमा उपस्थित भएका थिए ।
बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिएकाे पहिलो उपदेशलाई आषाढ पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ । यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा चिनिन्छ । सो उपदेशमा भगवान बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताए ।
कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना गरे । तत्पश्चात् चार बौद्ध सूत्रको प्रार्थना गरियो ।
अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेक कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्नुका साथै सो कार्यक्रमको महत्वबारे प्रकाश पारे । कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौँदेखि जोड्ने बन्धनमध्येको एक भएको बताउँदै बाैद्ध र अन्य धार्मिक सर्किटकाे निर्माणले आधुनिक समयमा भारत र नेपालबीचकाे सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।
सोही कार्यक्रममा बोल्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए ।
कार्यक्रममा लुम्बिनी गुम्बाक्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएकाे थियाे । सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गरेका थिए ।
सो अवसरमा भारत र नेपालका विभिन्न धार्मिक महत्वका बौद्ध स्थलहरुको प्रदर्शनी पनि राखिएको थियो ।