काठमाडाैं । १६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रूदिलबल्लव सिंह पक्राउ परेका छन् ।
उनलाई आज बिहान ९ : ३० बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।
यसअघि एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाल बुधबार बालुवाटारबाट पक्राउ परेका थिए ।
नाबालिका बलात्कार घटनामा उनीहरूविरूद्ध असार १३ गते पक्राउ पुर्जी जारी भएको थियो ।
उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ ।
बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन् ।
१६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन् । यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो ।
घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन छिन् । सुदन फाइबरको एक कम्पनी चलाउँछन् । उनको बागडोलस्थित अफिसमा पुर्याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
बलात्कार भएको खबर पाएपछि प्रहरीले सुदनलाई पक्राउ गरेको थियो ।