• २०८३ असार १४
  • 2026 June 28, Sunday

स्वार्थ केन्द्रित निर्णयका कारण अर्थतन्त्रमा समस्या : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आन्तरिक नीति निर्माणसंग जोडिएका स्वार्थ केन्द्रित निर्णयका कारण अर्थतन्त्रमा समस्या देखिएको तर्क गरेका छन् ।

आइतवार नेपालको आर्थिक अवस्था र आगामि मौद्रीक नीति विषयक अन्तक्रिया कार्यक्रममा उनले स्वार्थ केन्द्रित वित्त नीतिमा सुधार पहिलो आवश्यकता भएको तर्क गरे ।

उनले भने, ‘हामीसंग भविष्यमा स्रोत कति हुन सक्छ भन्ने कुरालाई ध्यान नदिईकन पछि जहाँबाट पनि आइहाल्ला भन्ने हिसावले कार्य गरेको पाईयो । स्रोतको सुनिश्चितता ठूलो रोगको रुपमा देखा परेको छ । अर्को ठूलो समस्याको रुपमा रकमान्तर पनि देखिएको छ । भैसकेको कुरालाई केही गर्न सकिदैन्, तर कडा रुपमा स्वीकृति नै नलिई भटाभट गरिने रकमान्तरलाई रोेकेका छौं ।’

उनले वित्तिय रुपमा देखिएका संस्थागत विकृतिलाई रोक्न तथा अत्यावश्यक परेको स्थानमा रकमान्तरलाई छुट दिएको जिकिर पनि गरे ।

त्यस्तै उनले ठूला आयोजना बाहेकका अन्य आयोजनामा स्रोत सुनिश्चितता समस्याको रुपमा देखिएको भन्दै अब साना आयोजनालाई तीन वर्षभन्दा धेरै समय नदिने र पूँजिगत खर्च बढाएर सिस्टममा देखिएको समस्यालाई समाधान गर्न प्रतिवद्ध रहेको बताए ।

महतले भने, ‘वार्षीक समस्याको रुपमा स्रोत सुनिश्चितता आयो । काम नसकि पुन ठेक्का लगाउनुपर्ने, आयोजनाको म्याद थप्यो फेरी अर्को ६ महिना लाग्ने । बहुवर्षे ठेक्काले ठूलो समस्या स्रोत सुनिश्चिततामा ल्यायो । एक करोडको विनियोजन गर्यो एक अरबको स्रोत सुनिश्चितता दिने । यसलाई तीन वर्ष भन्दा अब ठेक्का ठूला आयोजना बाहेक अरुलाई हुदैन् । निश्चित समयसिमा भित्र ठेक्का लगाउने र विकास खर्च गर्नुपर्ने यि कुराहरुलाई लागु गर्न गम्भीरताको साथ लागेका छौं ।’

उनले वित्तीय नीति र मौद्रीक नीति दुबै तर्फबाट लयमा काम गर्न सके अर्थतन्त्रले गति लिने र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदर पुरा गर्न सकिने पनि उल्लेख गरे ।