काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशको पूर्वी भेगमा भारी वर्षा हुने जनाएको छ ।
आज(बिहीबार) दिउँसो देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ । सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
अहिले मनसुनी न्यूनचापीय प्रणाली दक्षिण–पूर्व तथा उत्तरको नेपालतर्फ केन्द्रित भएको छ । त्यस कारण नेपालको पूर्वी भू-भागसँगै बागमती, गण्डकीको पोखरा क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने राती देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहनेछ ।