प्रचण्डलाई चिनियाँ नेता लिउको समवेदना

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समवेदना प्रकट गरेको छ ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाउले वक्तब्य जारी गर्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालकी पत्नी सीता दाहालको निधन भएकोमा गहिरो दुःख व्यक्त गरी प्रचण्डप्रति समवेदना व्यक्त गरेका हुन् ।

सीता दाहाल माओवादीकी महत्वपूर्ण नेतृ रहेको जनाउँदै लिउले प्रचण्ड दुईपटक चीन भ्रमणमा आउँदा सीतासँग भेटवार्ता भएको पनि स्मरण गरेका छन् ।

आफ्नो देशको विकास र समृद्धिमा प्रतिबद्ध भएर लागिरहेका बेला ठूलो दुःख परेको जनाउँदै लिउले सबै संकटको सामना गर्न सक्ने शक्ति प्राप्त हुने विश्वास गरेका छन् । उनले दाहालप्रति चीनको साथ, समर्थन र विश्वास सदैव रहिरहने समेत जनाएका छन् ।