• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

भद्रकुमारी घले सेवा सदनमा डोजर, सार्वजनिक जग्गा मिचेको महानगरको ठहर

काठमाडौं । काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन महानगरपालिकाले भत्काएको छ ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाे भन्दै महानगर प्रहरीले उक्त संरचनामा डोजर चलाइएको बताए ।

उनले भने, ‘यो सार्वजनिक जग्गा हो,यस्ता जग्गामा रहेको संरचना भत्किन्छ । कानूनी राज्यमा कानूनी व्यवस्था यहि हो । भावनामा बग्ने छुट हामीलाई छैन् । वृद्धहरुको कोही छैन्, आफ्नो कोही छैन भने हामी मानव आश्रम सेवामा लगेर राख्ने व्यवस्था मिलाउँछौं । ’

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएको थियो । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाएको महानगरले जनाएको छ ।

सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालेखि सञ्चालन गरेको थियो ।