ढल्यो भद्रकुमारी घले सदन, पूर्व सूचना नदिएको गुनासो, कवाडीले भने पाए पूर्व सूचना !

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर खुब खटिन्छ । कहिले धोबीखोला भित्र पस्छ त कहिले अवैध संरचना भत्काउने भन्दै आवासीय तथा बिभिन्न संरचना भित्र पस्छ । तर उस्ले यसरी भत्काउँदा पूर्व सूचना दिने नगरेको गुनासो पनि बढ्न थालेको छ ।

बुधबार काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काइयो । सार्वजनिक जग्गामा निर्माण गरिएको भन्दै महानगरको डोजरले भत्कायो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले सेवा सदनको भवन भत्काउँदा कानूनी राज्यमा कानूनी व्यवस्था यही हो भन्दै भावनामा बग्ने छुट आफुहरुलाई नभएको बताए ।

उनले भने ‘ यो सार्वजनिक जग्गा हो,यस्ता जग्गामा रहेको संरचना भत्किन्छ । कानूनी राज्यमा कानूनी व्यवस्था यहि हो । भावनामा बग्ने छुट हामीलाई छैन । वृद्धहरुको कोही छैन । आफ्नो कोही छैन भने हामी मानव आश्रम सेवामा लगेर राख्ने व्यवस्था मिलाउँछौं । विद्यालयको कुरामा कक्षा १२ सम्म महानगरले हेर्छ त्यसैले यो अर्को विद्यालयमा सार्ने तयारी गरिसकेको छ । के गर्नु पर्ने हो त्यो गर्छ । यो लालपूर्जा नभएको जग्गा हो । यो समस्या हाम्रो हो उहाँहरुको हो । भद्र कुमारी आमाले दुई घण्टा अगाडि फोन गरेर समर्थन गर्नु भएको छ ।

यता भद्रकुमारी घले सेवा सदनका अध्यक्ष दीपक घलेले भने आफुहरुले देख्ने गरी सूचना टाँस नगरेको गुनासो गरे । सार्वजनिक स्थलमा सूचना टाँस गर्नु पर्ने दायित्वबाट पनि महानगर पन्छेर अमानवीय काम गरेको आरोप पनि घलेले लगाए ।

उनले भने ‘ तीन महिनामा मुखपत्रमा उहाँहरुले लेखेर सूचना प्रवाह गरेर सूचित गरेको थियो भन्ने कुरा आयो तर हामीलाई कुनै लिखित सुचना दिएको छैन् । सार्वजनिक व्यक्तिको लोभमा हो भने यहाँसम्म कि जिल्ला अदालतले पनि कुनै व्यक्तिलाई सूचना दिनु पर्छ भनेर घरमा वा सार्वजनिक स्थलमा लगेर टाँस्छ भने नगरपालिकाले टाँस्नु पर्ने दायित्व हैन ? हामीलाई सुचना गर्नु पर्ने हैन । मुखपत्रको भरमा हुन्छ । हामीलाई जानकारी नै छैन । तीन दिनको समय दिएर आज यस्तो गरियो । हामीले पुस्ताकालय संग्रहालयहरु पनि खाली गराएका थियौं । उहाँले यसरी भत्काए हिरो बन्न खोज्नु भएको भने हिरो बन्न दिनुहोस । उहाँलाई चरम सीमाको आवेग भएछ । पानी उम्लेपछि पोखिन सुरु हुन्छ नि त्यस्तै भयो । हामीले उहाँहरुलाई नै दिन्छौं तपाईहरु नै चलाउनुहोस भन्दा भन्दै पनि यो भत्काउनुको कुनै औचित्य छ । लिखित रुपमा नै दिन्छौं भनेका छौं तर भत्काउनै पर्ने के औचित्य त ? म स्वयम गएको छु बालेनलाई भेट्नलाई भेटनै चाहानु भएन नि । ’

सेवा सदनमा रहेकी ८० बर्षीया चन्द्र मातले भने आपरहरुलाई यो उमेरमा सदनबाट नउठाउन हार गुहार गरिन् ।

उनले भनिन् ‘ यस्तो अन्याय नगरिदिनु होला । सानै उमेरबाट यहाँ बसेको । ८० वर्ष भयो यहाँ बसेको । अब यहाँबाट अन्त कहिँ नजाने ।

स्थानी श्याम मगरले भद्रकुमारी घलेले पञ्चायतकाल देखि नै जनपक्षीय र समाजसेवी काम गरेकोले सेवा सदन भत्काउनु उचित नभएको बताए ।

उनले भने ‘ सेवा सदनमा धेरै आश्रित छन्, भद्रकुमारी घलेले पञ्चायतकालमा पनि धेरै राम्रो काम गर्नुभयो, यो सदन भत्काइहाल्नु उचित भने थिएन । ’

सेवा सदन भत्काइएको विषयलाई लिएर बिभिन्न टिकाटिप्पणी हुन थालेका छन् । पूर्व सूचना नदिएको महानगरले कवाडीहरुलाई भने पूर्व सूचना दिएर सामान उठाउन बोलाएको आरोप पनि सदन आसपासका सर्वसाधारणले लगाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१